काठमाडौं- पछिल्लो दुई सातादेखि पाटन अस्पतालमा डेंगुका बिरामीले भरिभराउ भएका छन।
अस्पतालका निर्देशक डा.रबि शाक्यले साउन र भदौंमा मात्रै अस्पतालले १५५५ डेंगु संक्रमितको उपचार गरेको बताए। जसमा साउनको तुलनामा भदौं, असोज र कार्तिक डेंगु संक्रमित संख्या क्रमश बढेको हो।
हाल दैनिक १०० देखि १५० डेंगु संक्रमित भर्ना हुने गरेको निर्देशक डा शाक्यले जानकारी दिनुभयो।
पछिल्लो समय रातीको समयमा पनि २० देखि २५ जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेकोमा बिरामीको अवस्था अनुसार अस्पताल भर्ना लिने गरेको उनी बताउँछन्। काठमाडौं ललितपुर र भक्तपुरका जिल्ला बाट डेंगुका बिरामी धेरै आएका छन्।
‘आइतबार साँझसम्म १२२ जना डेंगुका तथा स्क्रप्टाइबसका ३० जना बिरामी आइसियूमा उपचाररत छन्’, उनले भने,’अस्पतालमा उपचारका लागि थोरै मात्रै गम्भीर अवस्थाका डेंगु संक्रमित आउने गरेका छन्, कसै कसैलाई भने रगत चढाउनुपर्ने अवस्था हुन्छ।’
हालसम्म अस्पतालमा डेंगु संक्रमणका कारण मृत्यु नभएको उनले बताए
आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा
हाल आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा दिइरहेकोले बेड अभावको समस्या झेल्नु नपरेको निर्देशक डा शाक्य बताउँछन्। आइतबार अस्पतालमा इनडोरमा ५५ जना भर्ना भएका थिए भने आकस्मिक कक्षमा बेड अभावका कारण १३ बेड थपिएको जानकारी उनले दिए।
अस्पतालमा धेरै जसो ज्वरो, डेंगु तथा मौसम बदलिको को कारणले आउने मौसमी ज्वरोको बिरामी आउने गरेको उनी बताउँछन्।
देशभर हालसम्म ११ हजार ५ सय ४५ जनामा संक्रमण पुष्टि
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाखा प्रमुख डा यदुचन्द्र घिमिरेले पछिल्लो तथ्यांकअनुसार विभिन्न १० जिल्लामा डेंगु संक्रमित बढी फेला परेको बताए । देशभर हालसम्म ११ हजार ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं, तनहुँ, कास्की, चितवन, पर्वतमा पाँच सयभन्दा बढी संक्रमित फेला परेका छन्। यस वर्ष विभिन्न जिल्लाका गरि ६ डेंगु संक्रमितको मृत्यु भएको छ । भदौं र असोज डेंगु संक्रमणको उच्च जोखिमको महिना रहेको उनले बताए।
डेंगु कसरी सर्छ ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।
डेंगुका लक्षण के-के हुन्?
– उच्च ज्वरो,
– कडा खालको टाउको दुखाइ हुने,
– आँखाको गेडी पछाडि दुख्ने,
– मांसपेसीको दुखाइ,
– वाकवाक लाग्ने र वान्ता हुने
कसरी गर्ने डेंगुको रोकथाम ?
– डेंगु विरुद्दको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने,
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने,
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने,
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्ने,
– लामखुट्टेको टोकाइबाट बच्ने,
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने,
– झुलको प्रयोग गर्ने