अर्जुन शाही काठमाडौ,
जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ३ मुद्दामा अभियोजन गर्नुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको छ ।
सोमबार अनुसन्धान मिसिल सरकारी वकिल कार्यालयमा बुझाउँदै प्रहरीले रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा चलाउन राय दिएको हो ।
झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गर्दा रविको भूमिका स्पष्ट देखिएकाले उनीविरुद्ध ठगी मुद्दा आकर्षित हुने राय प्रहरीले दिएको छ । कास्की प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार ठगीमा रविको संलग्नता पुष्टि हुने पर्याप्त आधार फेला परेका छन् ।
‘लामो अनुसन्धानपछि रविविरुद्ध सहकारी ठगीमा समेत मुद्दा चलाउने पर्याप्त आधार फेला परेका छन्,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘सम्पत्ति शुद्धीकरणमा पनि रविले पुष्ट्याइँ गर्न नसक्ने आधार छन् ।’
सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा पेश गरेको छ ।
गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । तर, रविले भने आफूले हस्ताक्षर गरेका खाली चेकहरू ड्रयरमा राखेकोमा अरू कसैले भरेर बुझाएको हुनसक्ने जवाफ दिएका थिए ।
‘सिधा कुरा छ, पाँचवटा सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा गएको छ । त्यो रकम रविकै हस्ताक्षरमा खर्च भएको छ । सहकारीलाई ऋण तिरिएको छैन,’ एक अनुसन्धान अधिकृतले भने, ‘सहकारीको ऋण नतिर्ने र रकम अनधिकृत खर्च गर्ने काम गरेकाले त्यसलाई ठगीको आधार बनाइएको हो ।’
अनुसन्धानका क्रममा पछिल्लो ४ वर्षमा ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको उनकी पत्नी निकिता पौडेलको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको प्रहरीले फेला पारेको छ । यो रकम कहाँबाट आएको र कसरी जम्मा भयो भन्ने पुष्टि रविले गर्नुपर्ने हुन्छ ।
कास्की प्रहरीले यसअघि नै सूर्यदर्शन सहकारी ठगीको मुद्दा चलाउँदा उक्त सहकारीका अध्यक्ष एवं गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई प्रतिवादी बनाएर फरार सूचीमा राखेको थियो । पूरक जाहेरीका आधारमा पक्राउ परेका रविले समेत सहकारी ठगी प्रकरणमा जीबीमाथि धेरै दोष थोपरेका छन् ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले अनुसन्धान प्रतिवेदनको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको बताए ।
उनले लोकान्तरसँग भने, ‘तीनवटा मुद्दा चलाउन राय दिँदै अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएका छौं, मुद्दा चलाउन मिल्ने धेरै तथ्य अनुसन्धानका क्रममा फेला परेको छ ।’
रविलगायत हाल पक्राउ परेका ५ जनाविरुद्ध र अघि पक्राउ परेका ९ जना समेत गरी ५१ जनालाई प्रतिवादी बनाइएको जानकारी ओलियाले दिए ।
यसअघि रविलाई थपेको म्याद सोमबार सकिएकाले सरकारी वकिल कार्यालयले मुद्दाको टुंगो लगाउन थप समय माग्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँको माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरिएको बताइएको छ ।