नबोलेरै विपक्षलाई तितरबितर पारिरहेका देउवा

मौनतामा बिस्वास गर्ने देउबा ।

राजनीतिका सातिर खेलाडी

 नबोलेरै अरूलाई तितरबितर पारिरहेका देउवा

काठमाडाैं | पुस १२, २०८१

‘बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ’ पार्टीको कोशी प्रदेश सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति हो । अभिव्यक्तिमा मात्र होइन, व्यवहारमा पनि देउवाको ठ्याक्कै यही शैली देखिन्छ ।

महामन्त्री गगन थापाले ‘हाम्रो सभापति कम बोल्नुहुन्छ’ भनेपछि देउवाले पनि मैले ठट्टा गरेको भन्न छुटाएनन् । देउवाले ठट्टा मात्रै हो भनेर गरेको टिप्पणीमा उस्तै चलाखी र रणनीति रहेको बुझ्न सकिन्थ्यो, किनकि शेखर टीमबाट महामन्त्री जितेका गगन थापा आफ्नो समूहमा आएपछि देउवा उनलाई भड्काएर गाली गर्ने पक्षमा थिएनन् ।

 

अझै शेखर कोइरालाले बहिष्कार गरेको सम्मेलनमा गगनको साथले देउवा झन् हौसिएका थिए । मंसिर २२ गते विराटनगरमा दिएको त्यो अभिव्यक्ति कम बोल्ने स्वभावका देउवाको राजनीति बुझ्ने आँखीझ्याल हो भन्दा फरक पर्दैन । 

कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर देउवा दुई घण्टे भाषण नगरी राजनीतिमा टिकिरहन सक्ने क्षमता विस्तार गरेको नेता भएको बताउँछन् । 

‘धेरैले बकबक गर्ने, तर काम नगर्ने शैली देखाएपछि सभापतिले विराटनगरमा कम बोल्नुस्, काम धेरै गर्नुस् भन्ने अर्थमा त्यस्तो बोल्नुभएको हो । तर, महामन्त्री गगन थापालाई इंगित गरेर बोल्नुभएको होइन,’ बलायरले लोकान्तरसँग भने, ‘उहाँ दुई घण्टे भाषण नगरी राजनीतिमा टिकिरहन सकिँदैन भन्ने नेता होइन । देशको राजनीति वरिपरी वर्षौंदेखि उहाँकै फनफनी घुमेको छ ।’

राजनीतिमा मानक हुने गरी पार्टीलाई कायापलट गर्न देउवाले सांगठनिक रणनीतिको चातुर्यता देखाएका छैनन् । पार्टीलाई प्रभाव, संगठन, विधि र नीतिमा अब्बल बनाउने कुशलता देखाएका पनि होइनन्, बरु लगातार दुई कार्यकाल सभापति भए पनि वर्षौंसम्म भ्रातृ संस्था तदर्थवादमा चल्ने स्थिति यही बीचमा बनेको छ, जसले पार्टीमा नेता उमार्ने नर्सरीलाई वर्षौंदेखि अवरुद्ध बनाइरहेको छ । 

यी कमजोरी हुँदाहुँदै पनि देउवा आमप्रवृत्तिमा अन्य नेताभन्दा अलग छन् । यही अलग पहिचान नै देउवाका लागि राजनीतिमा लगाम लगाउने, सामर्थ्य र शक्ति प्राप्ति गर्ने अस्त्र बन्दै आएको छ । अरूलाई वर्षौं मेहनत र तयारी गरेपछि मात्रै शक्ति र विरासतको उचाइ प्राप्त हुन्छ । तर, देउवा यसमा फरक छन् । 

कुनै पद प्राप्त गर्दा वा नगर्दा दुवै स्थितिमा देउवा अरूजस्तो प्रतिक्रियात्मक बन्दैनन् । धेरै बोल्ने नेता आफ्नै बोलीले अप्ठ्यारोमा परेका कैयन उदाहरण छन् । तर, कम बोल्ने देउवाले नबोलिकनै अरूलाई अप्ठ्यारो पारिरहेका छन् ।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाले आफू प्रधानमन्त्री बन्दा देउवालाई गृहमन्त्री बनाएका थिए । तर, गिरिजाले गृहमन्त्री बनाएका देउवा अन्ततः कोइरालाहरूको दबदबा र विरासतलाई बिराम लगाउन सक्ने हैसियतमा पुगे । 

कुनै पद प्राप्त गर्दा वा नगर्दा दुवै स्थितिमा देउवा अरूजस्तो प्रतिक्रियात्मक बन्दैनन् । धेरै बोल्ने नेता आफ्नै बोलीले अप्ठ्यारोमा परेका कैयन उदाहरण छन् । तर, कम बोल्ने देउवाले नबोलिकनै अरूलाई अप्ठ्यारो पारिरहेका छन् ।

गिरिजाप्रसाद कोइरालाको थिचोमिचोबाट अमिलो मन बनाएका गणेशमान सिंहदेखि, कृष्णप्रसाद भट्टराईसम्मको ‘ब्याकिङ’ देउवालाई मिल्यो । यसबाटै देउवाले अहिलेसम्मको शक्ति आर्जन गरेका हुन् । इतिहास र उचो व्यक्तित्वबाट पाएको धापको लाभ लिँदै देउवा शक्तिशाली बन्दै गए । यही शक्तिशाली गुट निर्माणको क्रमले देउवालाई निरन्तर पद प्राप्तिको बाटोमा अगाडि बढाएको छ ।  

यही गुटपछि बोलीभन्दा बढी रणनीतिक, चातुर्यता र कौशलता देखाएर देउवा राजनीतिमा टिकिरहेका छन् । अर्थात्, राजनीतिलाई आफ्नो वरिपरि घुमाउँदै आएका छन्, जसले उनलाई पाँचपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापति बन्ने अवसर दिइसकेको छ । पार्टी विधानले अब सभापतिमा दोहोरिन नपाउने व्यवस्था गरेको छ । 

साना दलको बार्गेनिङ रोक्न, संविधान संशोधन गर्न भन्दै देउवाले एमालेसँग आलोपालो सत्ता साझेदारीका लागि ७ बुँदे सहमति गरेका छन् । लिखित सहमतिमा आलोपालो सरकारको नेतृत्व गर्ने बुँदाले देउवा बाँधिएका छन् । 

सबैभन्दा ठूला दलको सरकारले ६ महिनासम्म पनि कुनै प्रभाव नछाडेको भन्दै कांग्रेस भित्रैबाटै आलोचना हुन थालेको छ । तर, कांग्रेसका सबै संरचनामा ८० प्रतिशतमाथिको होल्ड बनाएका देउवाले मुख नखोल्ने र मुभ नचालेसम्म सरकार तलमाथि नपर्ने स्थिति छ ।

चौतर्फी आलोचनापछि सार्वजनिक सेवा प्रवाह, संविधान संशोधन र अलपत्र विधेयकलाई टुंगोमा पुर्‍याउन कार्यदल पनि बनाइएको छ । तर, एमालेसँगको अहिलेको सत्ता समीकरण देउवाले चाहेको दिनसम्म मात्रै रहने टिप्पणी हुन छोडेको छैन ।

अर्थात्, सबैभन्दा ठूलो पार्टी कांग्रेसका यी प्रभावशाली नेता पार्टीमात्रै नभएर सत्ताका लागि पनि उत्तिकै निर्णायक छन् । यसैले अहिले पनि देउवा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विश्वासमा लिइरहनुपर्ने पात्र बनेका छन् । अन्यथा ढिलो होइन, चाँडै जुनसुकै विकल्पमा पनि देउवालाई प्रधानमन्त्री पदको किस्तीले पर्खिरहेको टिप्पणी हुन छाडेको छैन ।  

 रणनीतिले जितेका देउवा 

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको बलियो विरासत हुँदासमेत देउवाले धक्का दिन सकेनन् । तर, पार्टीमा आफ्नो बलियो गुटबन्दी जोगाउँदै आए । २०७२ को १३ औं महाधिवेशनको मुखैमा सुशील कोइरालाको निधन भएपछि देउवा कांग्रेसमा हाबी भए । तत्कालीन संस्थापनमा रहेका कृष्णप्रसाद सिटौलालाई समूहबाट अलग गराउन देउवा सफल भए । 

पहिलो चरणमा देउवासँगै सिटौला भिडे । दोस्रो चरणमा सिटौलाले देउवालाई समर्थन गरेपछि सभापतिमा रामचन्द्र पौडेल पराजित भए । महामन्त्रीमा जितेका डा. शशांक कोइरालासमेत दाहिना भएपछि देउवाले कांग्रेसको संस्थापन हत्याए । 

अर्थात्, गिरिजादेखि सुशीलसम्मलाई नजिकबाट साथ दिएका सिटौला र शशांकलाई सो समूहबाट अलग गराएपछि मात्रै देउवा सभापतिमा जित्न पुगेका हुन् । 

पहिलो कार्यकालमा रणनीतिक चलाखीले नेतृत्व हत्याएका देउवा दोस्रोपटक पनि उस्तै गरी सफल भए । दोस्रोपटक देउवाले पूर्व संस्थापनलाई झन् तितरबितर नै पारिदिए । डा. शेखर कोइराला र गगन एउटा कित्तामा उभिएर देउवासँग प्रतिस्पर्धा गरे । तर, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिदेखि सुजाता कोइरालासम्म अन्तिममा देउवाको साथमा रहन पुगे । सभापतिमा उठे पनि दोस्रो चरणमा निधि र सिंहले देउवालाई साथ दिए । 

पराजित शेखरले ४० प्रतिशत मत प्राप्त गरे । तर, आफ्नै समूहबाट महामन्त्री जितेका गगन थापालाई आफूसँग राखिरहन सकेनन् । गगन शेखरको कित्ताबाट देउवानिकट पुगिसकेका छन् । १३ औं महाधिवेशनमा महामन्त्री जितेका शशांकजस्तै गगन पनि सभापतीय प्रणालीमा नेतृत्वलाई सहयोग गर्नुपर्छ भन्दै खुला बचाउमा उत्रिएका छन् । र, फेरि पनि देउवाले इच्छा गरेको व्यक्ति भावी सभापति बन्ने स्थिति सिर्जना भएको छ । 

सुदूरपश्चिम कांग्रेसका सभापति बलायर आफ्नै वरिपरि देश र कांग्रेसको राजनीति घुमाएका देउवा अझै पनि पार्टीमा निर्णायक रहेको बताउँछन् । 

‘कांग्रेसलाई यहाँसम्म ल्याउनमा देउवाको मुख्य भूमिका छ । कसैको इर्ष्या र डाहले हुने कुरा होइन,’ बलायरले भने, ‘अहिले पनि शेरबहादुरले जे निर्णय गर्‍यो १५ औं महाधिवेशनको निर्णय नै त्यही हुन्छ । यो भन्दा ठूलो प्रभाव र पहुँच के हुन्छ राजनीतिमा ?’ 

रिसइबी नसाँध्ने, बरु पुरस्कृत गर्ने स्वभाव 

हालैसालै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावललाई पार्टीबाट निकालेर दण्ड दिएको भन्दै सार्वजनिक रूपमा आलोचना खेपेका छन् ।

राजनीतिक रूपमा फरक मत राखेकै आधारमा र अध्यक्षमा चुनौती दिएकै आधारमा ओलीले दण्ड दिएको भन्दै पार्टीभित्रै प्रश्न उठेको छ । तर, कांग्रेस सभापति देउवा यो अर्थमा ठीक उल्टो छन् । अर्थात्, कुनै समय आफ्नो कटु आलोचक बनेका रामचन्द्र पौडेलदेखि साथ दिएका अन्य नेतालाई पदको पुरस्कार दिन भ्याइसकेका छन् ।

‘आफैंसँग प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेललाई देउवाले राष्ट्रपति बनाए । देउवाका लागि सभापतिको ढोका खोलिदिने कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन सबै प्रयत्न लगाए । आफूलाई सहयोग गर्ने कसैलाई पनि धोका नदिने र अवसर दिन कन्ज्युस्याइँ नगर्ने स्वभाव देउवाको छ,’ घिमिरे भन्छन्, ‘शेरबहादुरले यस्तो हो भनेपछि मनाउन सक्छन् । विमलेन्द्र निधि र प्रकाशमान सिंहलाई पनि तिमीहरूको उठ्ने अधिकार छ, उठ्दा फरक पर्दैन भनेर देउवा उदार बनिदिए । तर, फेरि दाबेदारी गरे पनि अघिल्लो रिजल्टले उनीहरूको हैसियत देखाइसकेको छ ।’ 

राजनीतिका मुख्य पद पाइसकेपछि अब देउवालाई पाउन बाँकी कुनै पद छैन । उमेरले समेत ८० वर्ष कट्ने भएपछि १५ औं महाधिवेशन उता देउवा सक्रिय राजनीतिमा हुने छैनन् । बहिर्गमनलाई सुखद् बनाउँदै देउवाले प्रभाव, पहुँच र शक्तिको मात्रै राजनीति गरेको छाप पखाल्न चाहेको पत्रकार विन्दुकान्त घिमिरे बताउँछन् । 

बहिर्गमन सुखद् बनाउने बिचार

राजनीतिका मुख्य पद पाइसकेपछि अब देउवालाई पाउन बाँकी कुनै पद छैन । उमेरले समेत ८० वर्ष कट्ने भएपछि १५ औं महाधिवेशन उता देउवा सक्रिय राजनीतिमा हुने छैनन् । बहिर्गमनलाई सुखद् बनाउँदै देउवाले प्रभाव, पहुँच र शक्तिको मात्रै राजनीति गरेको छाप पखाल्न चाहेको पत्रकार विन्दुकान्त घिमिरे बताउँछन् । 

कतिपयले घोषणा गरेर आफूपछिको उत्तराधिकारी तोक्न माग गरे पनि देउवाको रणनीति अर्कै रहेको घिमिरेको भनाइ छ । 

‘देउवाको आशीर्वाद पाए जितिन्छ भनेर उत्तराधिकारी घोषित हुन धेरै नेताको जोडबल नभएको होइन, तर शेरबहादुरले आउँदो महाधिवेशनमा घोषणा गरेर यो मेरो उत्तराधिकारी हो भन्दैनन् । किनकि राजनीतिक उत्तरार्द्धलाई प्रभाव र शक्तिको राजनीतिबाट माथि राखेको छु भन्ने सन्देश दिने तयारी देउवाको छ,’ घिमिरेले भने, ‘यसैले लामो समय गुट चलाएर यसबाटै बलियो विरासत प्राप्त गरे पनि देउवा जस्ता चलाख नेताले राजनीतिक उत्तरार्द्धलाई उचो बनाउन आफ्नो हो भनेर कसैलाई नभन्ने र गुटबन्दीबाट माथि उठ्नुपर्छ भनेर नयाँ चाल चाल्ने देखिन्छ ।’ आफ्नो दाबेदारी नरहने १५ औं महाधिवेशनमा देउवाले कसलाई कसरी समर्थन गर्छन् भन्ने अन्तिमसम्म गोप्य रहने बताइन्छ । 

देउवालाई अनपढ र अबुझ भन्नेहरू उनलाई नचिन्ने मान्छे भएको बलायर बताउँछन् ।  

‘१० वर्षपछि संविधान संशोधनमा के कमजोरी छन् र कहाँ सुधार्ने हो भनेर कांग्रेस सभापति देउवा नै संवेदनशील भएर लाग्नुभएको छ । हिजो विभिन्न समुदायलाई अधिकार दिलाउने पनि उहाँ नै हो । उहाँमा नेपालको राजनीतिका लागि चाहिने समझ र संवेदनशीलता छ,’ बलायरले भने, ‘शेरबहादुर देउवा राजनीतिमा लाटो र अबुझ होइन, उहाँजत्तिको चतुर कोही छैन । देउवामा नलेज छैन भन्नु उहाँलाई नचिन्नु हो

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार