अर्जुन शाही,
रेड स्टार न्युज
काठमाडौं । नेपाल बार एशोसिएसनको महासचिवमा नेकपा एमालेनिकट प्रगतिशील कानून व्यवसायी संगठन पीपीएलएले २४ वर्षपछि कमब्याक गरेको छ । पार्टी सदस्यकै हिसाबले पनि करिब २८ वर्षपछि एमालेका उम्मेदवार केदार प्रसाद कोइरालाले जितेका छन् ।
ललितपुरको करिब ५ सय मत गणना बाँकी रहँदा नेपाल बारेको महासचिवमा कोइरालाले आफ्ना प्रतिद्वन्द्वी रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेलाई २ हजार ३ सय मतले पछि पारेका कारण उनको जित निश्चित भएको हो ।
कोइराला कांग्रेस एमाले गठबन्धनका उम्मेदवार विजय मिश्र प्यानलबाट महासचिव उम्मेदवार हुन भने न्यौपाने माओवादी, रास्वपा, नेकपा एस र राप्रपा गठबन्धनबाट महासचिव उम्मेदवार हुन् ।
मतगणनाका पछिल्लो विवरण अनुसार महासचिवमा एमालेनिकट कोइरालाले ४ हजार ६० मत पाउँदा रास्वपानिकट न्यौपानेले १७०५ मत पाएका छन् । २०५७ सालमा सिन्धुनाथ प्याकुरेल अध्यक्ष जित्दा एमालेनिकट प्यानलबाट महासचिवमा सतिशकृष्ण खरेल निर्वाचित भएका थिए ।
त्यसयता एमालेनिकट वकिलले बारको महासचिव जित्न सकेका थिएनन् । यसबीचमा बार अध्यक्षमा शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्कीले जिते पनि महासचिवमा भने २४ वर्षपछि कोइरालाको जित भएको पीपीएलएका नेता राजाराम घिमिरेले बताए । त्यसअघि बार महासचिवमा एमालेनिकट वकिलबाट सुवास नेम्वाङ,हरिकृष्ण कार्की र अग्नि खरेलले जितेका थिए ।
नेपाल बारको संगठनमा महासचिव पद महत्त्वपूर्ण मानिन्छ । यसपटक बार एशोसिएसनमा एमालेनिकट पीपीएलएको बहुमत सुनिश्चित समेत भएको छ । पीपीपएलएले महासचिवसहित चार प्रदेश उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी २५ मध्ये १३ सीट जितेको छ ।
कोशीका उपाध्यक्ष पदम लिम्बु, उपत्यकाबाट सरस्वती श्रेष्ठ, गण्डकीबाट भूपेन्द्र खनाल, सुदूरपश्चिमबाट सिद्धराज ओझा र कोषाध्यक्ष जगतबहादुर कार्कीको जित निश्चित भएको छ ।